विप्लवलाई प्रचण्डको आग्रह: ‘यताउता भड्किनु पर्दैन, नेकपामा आउनुस्’

2.48K
shares

१४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता नगई नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेकपामा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विप्लवलाई एकताको मूलधारमा फर्किन अपिल गरेका हुन् ।

‘हामीले नेपाली कम्युनिस्ट पार्टी आवेगमा बनाएर होइन, लामो संघर्ष र विचारको निष्कर्षका रूपमा बनाएका हौं । एकताको प्रक्रियामा तपाईंहरूको निकै ठूलो भूमिका र महत्व रहने कुरा तय भइसकेको थियो,’ प्रचण्डले भने ।

समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढाउने उद्देश्यसहित आफू र माधव नेपालले विप्लवलाई विशेष महत्व दिएको उल्लेख गर्दै उनले कुनै ठोस कारणबिनै एकताबाट पछाडि हटेको आरोप लगाए ।

एकतामा समावेश नभए पनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको बताउँदै प्रचण्डले विप्लव समूहको ‘वास्तविक घर’ नेकपा नै भएको दाबी गरे । ‘यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन । आजभोलि यसरी भड्किँदा केही हुनेवाला छैन,’ उनले भने ।

प्रचण्डको यो अभिव्यक्तिलाई वामपन्थी शक्तिहरूबीच पुनः एकताको प्रयासका रूपमा हेरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083