सुदूरपश्चिम दौडाहामा बालेन शाह, दार्चुलामा उम्लियो जनसागर
वि.सं.२०८२ माघ १४ बुधवार १७:५७
shares

काठमाडौँ ।रास्वपाका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेश दौडाहाका क्रममा दार्चुला पुगेका छन् ।
चुनावी प्रचारप्रसारका क्रममा उनी बुधबार डडेलधुरा र बैतडी हुँदै दार्चुला पुगेका हुन् । यस क्रममा उनले रास्वपाका डडेलधुरा उम्मेदवार डा. तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट तथा छलफल गरेका छन् ।
दार्चुला पुगेका बालेनलाई स्वागत गर्न ठूलो संख्यामा कार्यकर्ता तथा स्थानीयको भीड लागेको थियो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चुनावी प्रचारमा सक्रिय छन् ।
रास्वपाका अनुसार बालेन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि उनी कैलाली र कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भइसकेका छन् ।
रास्वपाले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार राति ८:०० बजे बझाङको बुङ्गलमा हुने कार्यक्रममा बालेन सहभागी हुनेछन् ।
बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा छन् ।
















