संसद पुनर्स्थापना सम्बन्धी रिट छिटो टुंग्याउन कांग्रेस पूर्व सांसदहरूद्वारा प्रधानन्यायाधीशको ध्यानाकर्षण

3.94K
shares

काठमाडौँ । सर्वोच्च अदालतमा दायर प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन नेपाली कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।

विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरेको नेतृत्वमा पूर्व सांसदहरूको टोलीले रिटको सुनुवाइ प्रक्रिया तीव्र बनाउन आग्रह गर्न बिहीबार प्रधानन्यायाधीश राउतसँग भेट्ने समय लिएको हो ।

घिमिरेका अनुसार कांग्रेस र एमाले लगायत विभिन्न दलका तर्फबाट संसद् पुनर्स्थापनाको माग गर्दै दर्जनभन्दा बढी रिट सर्वोच्च अदालतमा दायर भइसकेका छन् । तर, अहिलेसम्म ती रिटहरूको सुनुवाइका लागि पेसी तोकिएको छैन ।

‘रिट दायर भइसकेपछि त्यसलाई टुंग्याउनुपर्छ । न्यायालयले संविधानको व्याख्या गरेर स्पष्ट निर्णय दिनुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुंग्याउनुस् भन्ने आग्रहसहित भोलि प्रधानन्यायाधीशलाई भेट्न लागेका हौँ,’ घिमिरेले बताएका छन् ।

उनले यस विषयमा एमालेका सांसदहरूलाई पनि सर्वोच्च अदालत जानेबारे जानकारी गराइसकेको बताए । कांग्रेसका ६५ जना पूर्व सांसदले संसद् पुनर्स्थापनाको माग गर्दै रिट दायर गरिसकेका छन् ।

घिमिरेका अनुसार संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका सबै पूर्व सांसदहरू बिहीबार सर्वोच्च अदालत पुग्नेछन् ।


divya collage
unigloble collage