बुटवलमा १६ दिने निःशुल्क डिजिटल मार्केटिङ तालिम शुभारम्

3.78K
shares

मुक्तिखबर ।रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिम आजबाट बुटवलमा औपचारिक रूपमा शुभारम्भ भएको छ।

रूपन्देही आसपासका क्षेत्रमा रहेका विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन गर्दै रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले डिजिटल प्रविधिको तीव्र विकाससँगै उद्योग तथा व्यवसायलाई समयसापेक्ष रूपमा अघि बढाउन डिजिटल मार्केटिङको ज्ञान अपरिहार्य भइसकेको बताउनुभयो। उहाँले तालिमले स्थानीय उद्योगलाई प्रविधिमैत्री बनाउँदै बजार विस्तार, ब्रान्ड प्रवर्द्धन तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। डिजिटल सीपले युवालाई रोजगारी खोज्ने मात्र नभई आफैं रोजगारी सिर्जना गर्न सक्ने उद्यमी बनाउने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि संघले परिणाममुखी र प्रविधिमैत्री सीप विकास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रम सञ्चालन गर्दै रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालले उद्योग–व्यवसायलाई प्रतिस्पर्धी बनाउन डिजिटल सीप अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। यस किसिमका तालिमहरूले उद्योगमा कार्यरत जनशक्तिलाई आधुनिक बजार प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

तालिमका प्रशिक्षक इन्जिनियर अमृत रानाभाट र विनय शर्माले तालिमको संरचना, उद्देश्य र सिकाइ विधिबारे जानकारी गराउँदै सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल विज्ञापन, ब्रान्डिङ, ग्राहक पहुँच विस्तार तथा अनलाइन व्यापार रणनीतिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो।

तालिममा १६ वटा उद्योगबाट २० जना सहभागी रहेका छन्। तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको छ।

स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवर्द्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083