एकैदिन तोलामा २० हजार ५ सय बढ्यो सुनको भाउ, नयाँ ऐतिहासिक रेकर्ड
वि.सं.२०८२ माघ १५ बिहीवार १३:३३
shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनहुँ नयाँ कीर्तिमान बनाउने क्रम जारी छ । आज बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर नयाँ ऐतिहासिक रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।
यसअघि बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
उता चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ । बुधबार चाँदीको भाउ तोलामा २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, भूराजनीतिक तनाव तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फ आकर्षण बढ्नुजस्ता कारणले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरूको भनाइ छ ।















