कमलविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
वि.सं.२०८२ माघ १५ बिहीवार १३:४७
shares

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
बुधबार राति कमलविनायकबाट च्याम्हासिंहतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०२० प ११६८ नम्बरको स्कुटर लाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–३–०१–००३ क ६२९१ नम्बरको टिपरले ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका–८ का २६ वर्षीय विमल बनमाला को उपचारको क्रममा मृत्यु भएको भक्तपुरका एसपी सूर्य खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार घटनास्थलमा सुरुमा बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर लडेपछि सोही दिशाबाट आएको स्कुटर त्यसमा ठोक्किएको थियो । त्यसपछि विपरीत दिशाबाट आएको टिपरले स्कुटरलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरका २४ वर्षीय राजेश बनमाला घाइते भएका छन् । उनको भक्तपुर अस्पताल, दुधपाटीमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी वृत्त जगाते मा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















