कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा
वि.सं.२०८२ माघ १५ बिहीवार १३:५७
shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युग र नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले अहिलेका अन्य उम्मेदवारहरू विगतका घटनासँग जोडिएको सन्दर्भमा सीमित रहेको उल्लेख गर्दै कांग्रेसको उम्मेदवार भने ‘माघ १’ को नयाँ सन्दर्भको प्रतिनिधि भएको दाबी गरे ।
उनले कांग्रेसले आफ्ना कमजोरीहरूको आत्मालोचना गर्दै, सबै विषयलाई दस्तावेजीकरण गरेर जनतासँग क्षमा माग्दै आफूलाई बदलेर अघि बढेको बताए । “कांग्रेसले आफूलाई बदलेर पार्टीलाई नयाँ युगतर्फ जबरजस्त ढंगले अगाडि बढाएको छ,” उनले भने, “अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो ।”
उपसभापति शर्माले अहिलेको मुख्य राजनीतिक मुद्दा सद्भाव, सुशासन र समन्नति भएको उल्लेख गर्दै नेपाली समाजलाई सबैभन्दा बढी आवश्यक कुरा सद्भाव भएको बताए ।
निर्वाचनमा हार–जितलाई स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले भने, “कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्छन् । प्रधानमन्त्रीका उम्मेदवारहरू धेरै हुनुहुन्छ । तर नेपाली कांग्रेसको उम्मेदवार माघ १ को हो । जित्ने–हार्ने चलिरहन्छ, त्यो नयाँ कुरा होइन ।”
उनले कांग्रेस अब देश परिवर्तनका लागि आत्मालोचनासहित अघि बढिरहेको र जनताको भरोसा जित्ने दिशामा केन्द्रित रहेको पनि बताए ।
















