अमेरिकालाई ईरानको जवाफ: ‘हाम्रा सैनिकको औँला ट्रिगरमा छ’

2.99K
shares

ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि सैन्य कारबाही गर्ने धम्की दोहोर्‍याएको केही घण्टामै उनले यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा बुधबार साँझ लेख्दै अराग्चीले भने, “हाम्रो प्यारो भूमि, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउन हाम्रा बहादुर सैनिक तयार छन् । उनीहरूको औँला ट्रिगरमा छ ।”

उनले गत वर्ष जुनमा इजरायलसँग भएको १२ दिने युद्धबाट ईरानले महत्वपूर्ण पाठ सिकेको पनि उल्लेख गरे । उक्त युद्धका क्रममा अमेरिकाले इजरायललाई सघाउँदै इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । “१२ दिने युद्धबाट सिकेका मूल्यवान पाठहरूले हामीलाई अझ बलियो, तीव्र र गहिरो प्रतिक्रिया दिन सक्षम बनाएको छ,” अराग्चीले भने ।

अमेरिकाले पछिल्लो समय ईरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमाथि दमन गरिएको आरोप लगाउँदै तेहरानमाथि दबाब बढाउँदै आएको छ । केही दिनअघि उसले विध्वंशक जहाजसहितको नौसैनिक समूह अरेबियन सागरमा, ईरान सामुन्ने तैनाथ गरेको छ ।

‘इरानतर्फ विशाल नौसेना समूह अघि बढिरहेको छ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “यो समूह तुरुन्त आफ्नो मिसन पूरा गर्न तयार, इच्छुक र समर्थ छ ।”

उनले ईरानलाई छिट्टै “निष्पक्ष र सर्वस्वीकार्य सम्झौता” गर्न आग्रह गर्दै भनेका छन्, “कुनै पनि आणविक हतियार नराख्ने सम्झौता गर्नुपर्छ । यो निकै महत्वपूर्ण छ, किनकि समय सकिँदैछ । मैले ईरानलाई पहिले पनि सम्झौता गर भनेको थिएँ ।”

गत २८ डिसेम्बरदेखि ईरानमा चलिरहेको सरकारविरोधी आन्दोलनका क्रममा ठूलो संख्यामा मानिसले ज्यान गुमाइसकेका छन् । ट्रम्पले आन्दोलनकारीमाथि दमन नगर्न ईरान सरकारलाई पटक–पटक चेतावनी दिँदै आएका छन् र आवश्यक परे सैन्य हस्तक्षेप गर्ने धम्कीसमेत दिइरहेका छन् ।


divya collage
unigloble collage