भदौ २३–२४ घटनाबारे आयोगको प्रतिवेदन कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री कार्की

1.09K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लैजाने बताएकी छन्।

आइतबार आयोगबाट प्रतिवेदन ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त प्रतिवेदन आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेश गर्ने जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीका अनुसार प्रतिवेदन अध्ययनपछि त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। साथै आवश्यक ठानेमा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा पनि सरकारले निर्णय गर्ने उनले बताइन्।

उनले भनिन्, “सार्वजनिक गर्ने विषयमा पनि हामी छलफल गर्छौं। प्रतिवेदनको विवरण हेरेर पूरा दस्तावेज तत्काल सार्वजनिक गर्न नसके निचोड मात्रै भए पनि सार्वजनिक गर्नेछौँ।”

प्रधानमन्त्री कार्कीले प्रतिवेदनमा घटनाको यथार्थ अवस्था र सत्यतथ्य समेटिएको विश्वास व्यक्त गर्दै आयोगका अध्यक्ष तथा सदस्यहरूले गरेको मेहनतको प्रशंसा समेत गरिन्।