निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयो : योगेश भट्टराई

2.73K
shares

काठमाडौं। योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनमार्फत जनताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नीति र नेतृत्वलाई अस्वीकृत गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै उनले पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनबारे खुला बहस आवश्यक रहेको बताएका छन्। साथै उनले आमसाधारणलाई पनि यस बहसमा सहभागी हुन अपिल गरेका छन्।

“निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृत गरेका छन्। यो आजको वस्तुगत यथार्थ हो,” भट्टराईले लेखेका छन्। उनले पार्टीले अब सर्वाङ्गीण रूपान्तरण गर्दै जनसमर्थन पुनः आर्जन गर्ने बाटो लिनुपर्ने बताएका छन्।

भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएको नीतिप्रति आफूले पार्टी बैठक तथा महाधिवेशनमा असहमति राखेको स्मरण गराउँदै ती विषयमा पुनः बहस खोल्नुपर्ने बताएका छन्। नीति र नेतृत्वबारे गम्भीर समीक्षा गरेर अघि बढेमा एमाले फेरि उठ्न सक्ने उनको विश्वास छ।

“कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ,” उनले लेखेका छन्, “सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत हामी फेरि उठ्नेछौँ र पार्टी, जनता तथा राष्ट्रको स्वाभिमानलाई पुनः स्थापित गर्नेछौँ।”

उनले संयम र धैर्यतासाथ पार्टीको एकता जोगाउँदै आत्मभर्त्सना होइन आत्मसमीक्षाको मार्गमा अघि बढ्न एमालेका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।