राजीनामा अस्वीकृतपछि सानेपा पुगे सभापति थापा

केन्द्रीय समिति बैठक आज पनि बस्दै

1.61K
shares

 

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापा राजीनामा अस्वीकृत भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै ६ बुँदे निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा सुरु हुनेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

महामन्त्री प्रदीप पौडेल ले बैठकमा संविधान संशोधनका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गर्ने प्रस्ताव अघि बढाइने जानकारी दिएका छन्। साथै, पार्टीको १५औँ महाधिवेशनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।

बैठकका मुख्य एजेन्डामा उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरूको सक्रियता अभिवृद्धि र जनसम्पर्क समितिहरूको भूमिकाबारे व्यापक छलफल समावेश गरिएको छ।

राजीनामा प्रकरणपछि उत्पन्न आन्तरिक राजनीतिक परिस्थिति व्यवस्थापन गर्दै आगामी रणनीति तय गर्न आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।