दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ दमकमा हुने, ४५ देशका नेपाली शेफ सहभागी हुने

2.46K
shares

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी र नेपाल शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।

आयोजकको अनुसार कार्यक्रम कोशी प्रदेशको दमक–झापास्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी जेठ १ र २ गते (मे १५–१६) दुई दिनसम्म सञ्चालन हुनेछ।

कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। यसको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृति र ग्यास्ट्रोनोमीको जगेर्ना गर्नु रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देश तथा विदेशमा कार्यरत नेपाली शेफहरू, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककलामा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी ४५ देशबाट नेपाली शेफहरूको सहभागिता रहने जानकारी दिइएको छ।

कार्यक्रमस्थलमा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न परम्परागत तथा रैथाने नेपाली परिकारहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ। यसले नेपाली खानाको प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली ग्यास्ट्रोनोमीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

केन्द्रीय अध्यक्ष अरुण अधिकारीले देशभरबाट प्रतियोगितामा सहभागी हुन सकिने जानकारी दिँदै कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैको सहभागिताको अपेक्षा व्यक्त गरेका छन्।