लुम्बिनीमा गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन हुँदै
वि.सं.२०८२ चैत २३ सोमवार ०६:३१
shares

लुम्बिनी रुपन्देही, — लुम्बिनी बौद्ध विश्वविद्यालयमा २०८२ साल चैत्र २३ देखि २५ गतेसम्म गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा नेपाल, भारत र भुटानबाट करिब एक सय बीस जना अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल जीन बैंक (एनएआरसी), डब्लुडब्लुएन र डब्लुडब्लुएफ नेपालको संयुक्त आयोजनामा तथा रकफेलर फाउन्डेसनको आर्थिक सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलनको मुख्य उद्देश्य कृषिप्रणालीमा रूपान्तरणकारी परिवर्तनका विषयमा प्राज्ञिक विमर्श गर्नु रहेको आयोजकले जनाएको छ।
सम्मेलनमा स्वदेशी ज्ञान, कृषि–पर्यावरणीय दृष्टिकोण र पुनरुत्थानात्मक अभ्यासहरूको एकीकरणमार्फत दिगो तथा प्रकृतिमैत्री कृषिप्रणाली विकासका विषयमा विशेष छलफल हुनेछ। साथै नेपाल, भारत र भुटानका किसान, अनुसन्धानकर्ता, नीतिनिर्माता, शिक्षाविद्, विकास साझेदार तथा निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ।
“रिजेनेरेटिङ फ्युचर्सः इण्टिग्रेटिङ एग्रोबायोडाइभर्सिटी, इको–स्पिरिचुअलिटी एन्ड क्लाइमेट–रेजिलियन्ट एग्रिकल्चर” शीर्षकको मुख्य मन्तव्य अन्तर्गत सात विषयमा केन्द्रित छलफल हुने जनाइएको छ। गहन पुनरुत्थानशील कृषि, कृषि जैविक विविधता संरक्षण, पर्वतीय कृषि, उच्च हिमाली क्षेत्रका जलवायु अनुकूल अभ्यास, पर्या–आध्यात्मिक कृषि, खाद्य तथा बजार प्रणाली र नीतिगत प्रावधानका विषयमा विस्तृत संवाद हुने आयोजकले जनाएको छ।
आधुनिक कृषि प्रणालीले उत्पादन वृद्धि गरे पनि माटोको क्षय, जैविक विविधताको ह्रास र परम्परागत ज्ञानको क्षरण बढाएको विषयमा सम्मेलनमा गहन बहस हुने अपेक्षा गरिएको छ। गहन पुनरुत्थानशील कृषिले माटो, पानी, हावा र जैविक विविधताको पुनर्स्थापना गर्दै सहनशील कृषि प्रणाली निर्माणमा योगदान पुर्याउनेमा सहभागीहरूले जोड दिनेछन्।
सम्मेलनमा मुख्य मन्तव्य, कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्रदर्शनी, पोस्टर प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिनेछ। साथै “बुद्ध थाली” सहित स्थानीय खाद्य सामग्रीमार्फत सजग भोजनको अभ्यास प्रवर्द्धन गरिने जनाइएको छ।
यो सम्मेलन रकफेलर फाउन्डेसनको सहयोगमा मुस्ताङ, मनाङ, लुम्बिनी र ललितपुरमा सञ्चालन भइरहेको रेगाग्री परियोजनाको एक हिस्सा रहेको छ। परियोजनाले स्थानीय तथा रैथाने कृषि आनुवंशिक स्रोतहरूको संरक्षण, स्वदेशी ज्ञान प्रवर्द्धन, सामुदायिक जीन बैंक स्थापना तथा परम्परागत बिउ संरक्षणमा काम गरिरहेको छ।
सम्मेलनमार्फत हिमाली क्षेत्रका आनुवंशिक स्रोतहरूको संरक्षणका लागि “हिमालयन बीज कोष” स्थापना गर्ने सम्भावना समेत खोजिने जनाइएको छ। स्थानीय उत्पादन, स्थानीय स्रोत र स्थानीय बजारलाई सुदृढ गर्दै स्वनिर्भर कृषि प्रणाली निर्माणमा जोड दिइने आयोजकको भनाइ छ।
सम्मेलनको समापन गहन पुनरुत्थानशील कृषिसम्बन्धी क्षेत्रीय घोषणापत्र अनुमोदन गर्दै हुनेछ। घोषणापत्रमार्फत स्थानीय जैविक विविधता संरक्षण, सहकार्य अभिवृद्धि, नीतिगत सुधार, कृषि पारिस्थितिक अभ्यास विस्तार तथा स्थानीय उत्पादनका लागि अनुकूल बजार निर्माण गर्ने प्रतिबद्धता जनाइनेछ।
सम्मेलनबाट गहन पुनरुत्थानशील कृषिबारे जनचेतना अभिवृद्धि, क्षेत्रीय सहकार्य सुदृढीकरण, नीतिगत सुझाव, अनुसन्धान प्राथमिकता पहिचान तथा प्रकृतिमैत्री कृषि प्रणालीका लागि साझा दृष्टिकोण विकास हुने अपेक्षा गरिएको छ।















