विश्व अटिजम सचेतना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

1.13K
shares

रुपन्देही, सिद्धार्थनगर । हेभेनली गार्डेन किड्स क्याम्पस तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा १९ औँ विश्व अटिजम सचेतना दिवसको अवसरमा “अटिजमबारे कुरा गरौं – मानवता र अटिजम: हरेक जीवनको मूल्य छ” भन्ने नारासहित सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको शिक्षा तथा खेलकुद विकास समितिको समन्वयमा आयोजना गरिएको हो।

कार्यक्रममा अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि, विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा, प्रारम्भिक पहिचान र समाजमा समावेशीताबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्रशिक्षक तथा मुख्य वक्ता शामेद कटिला श्रेष्ठ (पेडियाट्रिक फिजियोथेरापिस्ट तथा समावेशी शिक्षा विशेषज्ञ) ले अटिजम कुनै रोग नभई विकाससम्बन्धी अवस्था भएको बताउँदै समयमै पहिचान, अभिभावकको साथ र समावेशी शिक्षाको आवश्यकता औंल्याए।

उनले भने,“अटिजम भएका बालबालिकालाई माया, धैर्यता र सही शिक्षण पद्धतिबाट समाजमा सक्षम बनाउन सकिन्छ। प्रारम्भिक पहिचान, नियमित थेरापी र विद्यालय तथा अभिभावकबीचको सहकार्य अत्यन्त आवश्यक हुन्छ। समाजले उनीहरूलाई फरक नजरले होइन, समान अवसर दिएर अघि बढाउनुपर्छ।”

कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र आचार्यले विशेष आवश्यकता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।
उनले भने,“अटिजम सचेतना कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहकार्य गर्दै यस्ता बालबालिकालाई सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो। सिद्धार्थ उद्योग वाणिज्य संघ सधैं सकारात्मक सामाजिक काममा हातेमालो गर्दै अघि बढ्नेछ।”

त्यसैगरी, सिद्धार्थ उद्योग वाणिज्य संघका बोर्ड सदस्य तथा शिक्षा समिति संयोजक एवं हेभेनली गार्डेन किड्स क्याम्पसकी संस्थापक तथा प्रिन्सिपल रचना क्षेत्रीले विद्यालयले समावेशी शिक्षालाई प्राथमिकता दिएको बताइन्।
उनले भनिन्,“हरेक बालबालिकाको क्षमता फरक हुन्छ र सबै बालबालिकाले समान माया र अवसर पाउनुपर्छ। अटिजम भएका बालबालिकालाई गुणस्तरीय शिक्षा र आवश्यक सहयोग उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो। हेभेनली गार्डेन किड्स क्याम्पसले समावेशी शिक्षामार्फत अभिभावक र समाजलाई सचेत बनाउने काम गरिरहेको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नेछ।”

कार्यक्रममा शिक्षक, अभिभावक, व्यवसायी, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अटिजमबारे सही जानकारी प्रवाह गर्न र समाजमा सकारात्मक सोच विकास गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताएका थिए।

कार्यक्रमको उद्देश्य अटिजमबारे सही जानकारी फैलाउनु, अभिभावकलाई मार्गदर्शन गर्नु तथा विशेष आवश्यकता भएका बालबालिकालाई समाजमा सम्मानजनक स्थान दिलाउनु रहेको आयोजकले जनाएको छ।