कामु प्रधानन्यायाधीशको अभिव्यक्तिलाई लामिछानेको कडा चुनौती

1.34K
shares

२७ वैशाख , काठमाडौं। रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको हालैको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा चुनौती दिएका छन्।

कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीश मल्लले दिएको अभिव्यक्तिलाई लिएर प्रतिक्रिया दिँदै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया परम्पराभन्दा बाहिर गएको र असंवैधानिक भएको आरोपको खण्डन गरे।

पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले संवैधानिक परिषद्बाट भएको सिफारिस प्रक्रिया औचित्यपूर्ण रहेको दाबी गरे। “यदि सधैं वरिष्ठताका आधारमै हुने हो भने संवैधानिक परिषद्को आवश्यकता नै पर्दैनथ्यो,” उनले भने।

उनले विगतको परम्परालाई निरन्तरता दिइएको भए राजनीतिक भागबण्डाको खेल दोहोरिने तर्क पनि गरे।

आफूमाथि आलोचना गर्नेहरूलाई लक्षित गर्दै लामिछानेले कडा शैलीमा प्रतिक्रिया दिए। “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार,” उनले भने।

साथै उनले न्यायालयलाई जनताको विश्वास कायम राख्न गम्भीर बन्न आग्रह गर्दै अदालतलाई “हाँसोको विषय” नबनाउन चेतावनी दिए। उनले आम नागरिकलाई प्रभावमुक्त र निष्पक्ष न्याय प्रदान गर्नु नै प्राथमिकता हुनुपर्ने बताए।

“दुईतिहाइको सरकार भए पनि डर र प्रभावमा न्याय सम्भव हुँदैन,” उनले जोड दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083