संसद्को अवरोध हटाउन रास्वपाको पहलमा सोमबार सर्वदलीय बैठक

624
shares

जेठ २४, काठमाडौं। संघीय संसद्मा जारी अवरोध अन्त्य गरी राजनीतिक सहमतिको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आयोजना गर्ने भएको छ।

रास्वपा सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा बैठक बस्ने तय भएको पार्टीले जनाएको छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता वा प्रतिनिधिहरूलाई सहभागी हुन निमन्त्रणा गरिएको छ।

रास्वपाका अनुसार पछिल्ला दिनहरूमा संसद्मा देखिएको गतिरोध, प्रमुख राजनीतिक दलहरूबीच बढ्दो असहमति तथा महत्वपूर्ण विधेयक र संसदीय कार्यसूची प्रभावित भइरहेकाले संवादमार्फत समाधान खोज्न बैठक आह्वान गरिएको हो।

संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सभामुखको भूमिकाबारे प्रश्न उठाउँदै लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यसले नियमित संसदीय कामकारबाही प्रभावित भएको छ भने विभिन्न विधेयक तथा नीतिगत विषयहरू पनि अघि बढ्न सकेका छैनन्।

यही अवस्थालाई मध्यनजर गर्दै रास्वपाले सबै दललाई एउटै मञ्चमा ल्याएर सहमति र सहकार्यको वातावरण निर्माण गर्ने प्रयास गरेको जनाएको छ। बैठकमा संसद्को सञ्चालन, राजनीतिक दलहरूबीचको विश्वास पुनःस्थापना तथा आगामी संसदीय कार्यतालिकालाई सहज बनाउने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

पाँच दिनको अन्तरालपछि सोमबार प्रतिनिधिसभाको बैठक बस्ने कार्यतालिका रहेको अवस्थामा सर्वदलीय बैठकलाई संसद्को अवरोध हटाउने सम्भावित प्रयासका रूपमा हेरिएको छ। राजनीतिक दलहरूबीच सहमति जुट्न सके संसद्को नियमित कार्यसूची अघि बढ्ने विश्वास गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083