गाईमारे टेम्पो घटना छानबिन गर्न पाँच सदस्यीय समिति
सात दिनभित्र प्रतिवेदन पेश गर्ने
वि.सं.२०८३ असार १ सोमवार १४:०१
shares

कैलालीको गोदावरी नगरपालिका–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनापछि सुदूरपश्चिम प्रदेश सरकारले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गठित समितिको नेतृत्व प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टले गर्नेछन्। समितिलाई घटनाका सबै पक्षको अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने अभियानका क्रममा एउटा टेम्पो भीरबाट खसालिएको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। सामाजिक सञ्जालमा भिडियो तीव्र रूपमा फैलिन थालेपछि प्रदेश सरकारमाथि घटनाबारे स्पष्ट छानबिन गर्न दबाब बढेको थियो।
मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाउँदै निष्पक्ष अनुसन्धानका आधारमा दोषी देखिने जो–कोहीमाथि कानुनी तथा प्रशासनिक कारबाही गरिने स्पष्ट पारेको छ।
यता, घटनामा जोडिएका वन कार्यालयका प्रमुखसहित १९ कर्मचारीले भने टेम्पो जानाजानी भीरबाट नखसालिएको दाबी गरेका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा पुरानो टेम्पोलाई सडक किनारमा सार्ने क्रममा भिरालो भू–भागका कारण दुर्घटनावश खसेको उल्लेख गरेका छन्।
घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले हालसम्म १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर बयान तथा सोधपुछ गरिरहेको छ। छानबिन समितिको प्रतिवेदनपछि घटनाको वास्तविकता र जिम्मेवारी निर्धारण हुने अपेक्षा गरिएको छ।
































