रातो किताबबिनै बजेट छलफल गराउन खोजिएको भन्दै नेकपाको आपत्ति

546
shares

काठमाडौं । नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरेको लामो समय बितिसक्दा पनि मन्त्रालयगत विस्तृत बजेट तथा कार्यक्रम विवरण सार्वजनिक नगरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले बजेट प्रस्तुत भएसँगै सम्बन्धित मन्त्रालय र निकायका कार्यक्रम तथा बजेटका विस्तृत विवरण सांसदहरूलाई उपलब्ध गराइनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। उनले आवश्यक दस्तावेज नपाउँदा सांसदहरूलाई पर्याप्त अध्ययनबिनै बजेटमाथि धारणा राख्न र संशोधन प्रस्ताव दर्ता गर्न बाध्य पारिएको आरोप लगाए।

दुलालले वर्तमान सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने अपेक्षा गरिए पनि बजेटसम्बन्धी आधारभूत जानकारी सार्वजनिक गर्न ढिलाइ भएको भन्दै प्रश्न उठाए। बजेट निर्माण प्रक्रिया भाषणअघि नै सम्पन्न हुने भएकाले सम्पूर्ण विवरण डिजिटल रूपमा तयार रहनुपर्ने उनको भनाइ थियो।

उनले केही मन्त्रालयको बजेटमाथि संसदमा छलफल सुरु हुन लाग्दा समेत सम्बन्धित कार्यक्रम पुस्तिका उपलब्ध नभएको उल्लेख गर्दै यसले संसदीय अभ्यासलाई कमजोर बनाएको बताए। आवश्यक जानकारी नपाई खर्च कटौती प्रस्ताव दर्ता गर्नुपरेको अवस्था लोकतान्त्रिक प्रक्रियाका लागि उचित नभएको उनको तर्क थियो।

दुलालले विनियोजन विधेयक संसदमा दर्ता भइसकेपछि पनि विभिन्न मन्त्रालयमा बजेट रकम थपघट भइरहेको भन्ने चर्चा सुनिएको उल्लेख गर्दै त्यसबारे सरकारसँग स्पष्ट जवाफ मागे। यदि विधेयक पेश भएपछि बजेटको बाँडफाँट वा शीर्षक परिवर्तन भइरहेको हो भने त्यसलाई सुशासनको अभ्यास भन्न नसकिने उनले चेतावनी दिए।

उनले बजेट प्रक्रिया पारदर्शी, जवाफदेही र समयमै जानकारी उपलब्ध गराउने ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिँदै संसदलाई प्रभावकारी रूपमा काम गर्न आवश्यक सबै दस्तावेज तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083