लागुऔषध नियन्त्रण ब्यूरोको अपरेसन प्रभावकारी : अफिमसहित दुई पक्राउ

भारत निकासी हुँदै गरेको ४ किलो ४२० ग्राम अफिमसहित दुई पक्राउ

819
shares

काठमाडौं । भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ४ किलो ४२० ग्राम लागुऔषध अफिम (चोप) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय लागुऔषध ओसारपसार नियन्त्रणमा आक्रामक रूपमा सक्रिय रहेको लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले नेपालको पहाडी जिल्लाहरूमा अवैध रूपमा उत्पादन हुँदै आएको अफिमको उत्पादन, संकलन तथा भारततर्फ हुने तस्करीमाथि निगरानी गरिरहेको अवस्थामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

लागुऔषध ब्यरौका प्रवक्त्ता /एसपी दुर्गा रेग्मीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी ५४ वर्षीय राजकुमार लामा र हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४० वर्षीय राजकुमार तितुङ रहेका छन्। उनीहरूको साथबाट ४ किलो ४२० ग्राम अफिम बरामद गरिएको छ।

पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा बरामद अफिम भारततर्फ अवैध रूपमा निकासी गर्ने तयारी भइरहेको देखिएको छ भने यसमा संलग्न अन्य व्यक्ति तथा सञ्जालको खोजी पनि प्रहरीले अघि बढाएको छ।

ब्यूरोको सक्रियताले तस्करी नियन्त्रणमा उपलब्धि

पछिल्लो समय लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुखका रूपमा एसएसपी सुवाश बोहरा आएपछि ब्यूरोले लागुऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। विशेष सूचनाको प्रभावकारी परिचालन, अन्तरजिल्ला समन्वय र तस्करी सञ्जालमाथि लक्षित अपरेसनका कारण ठूलो परिमाणमा लागुऔषध बरामद हुनुका साथै संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढेको देखिन्छ।

ब्यूरोले पछिल्ला महिनाहरूमा अफिम, ब्राउन सुगर, गाँजा, चरेस तथा अन्य लागूऔषधसम्बन्धी मुद्दामा निरन्तर कारबाही गर्दै आएको छ। प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्र हुँदै हुने अन्तरदेशीय तस्करी रोक्न विशेष निगरानी र अपरेसनलाई अझ प्रभावकारी बनाइएको छ।

लागुऔषध नियन्त्रणमा ब्यूरोले देखाएको सक्रियता र परिणाममुखी कार्यशैलीको सुरक्षा निकायभित्र तथा सर्वसाधारणबाट समेत प्रशंसा भइरहेको बताइन्छ। प्रहरीको भनाइअनुसार लागुऔषध उत्पादनदेखि ओसारपसार र बिक्री वितरणमा संलग्न सञ्जालमाथि आगामी दिनमा पनि अझ कडा कारबाही जारी रहनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083