साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने

351
shares

काठमाडौं । सरकारले धानबालीको मुख्य सिजनलाई लक्षित गर्दै आगामी साउनभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई आवश्यक समयमा मल उपलब्ध गराउने उद्देश्यले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र पारिएको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत भारतबाट युरिया मल आयात भइरहेको छ। भारतसँग भएको ८० हजार मेट्रिक टनको सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

यस्तै, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल खरिद प्रक्रिया अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ।

विभिन्न मुलुकबाट ल्याइँदै गरेको मलमध्ये ओमन, कतार र साउदी अरेबियाबाट युरिया तथा भियतनामबाट डीएपी नेपाल आउने क्रममा छन्। केही खेप कलकत्ता र विशाखापट्टनम बन्दरगाहमा पुगिसकेका छन् भने बाँकी साउन पहिलो र दोस्रो साताभित्र नेपाल आइपुग्ने तयारी छ।

मन्त्रालयका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मल आपूर्तिमा चुनौती देखिए पनि त्यसको असर नेपालमा कम पार्ने गरी आवश्यक व्यवस्थापन गरिएको छ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा किसानलाई उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ। साथै, मल वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनलाइन प्रणालीमा वितरणसम्बन्धी विवरण नियमित रूपमा अद्यावधिक गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083