गाउँ–गाउँमा प्रहरी, नागरिकसँग प्रत्यक्ष संवादमा इन्सपेक्टर गोविन्द भण्डारी

845
shares

मकवानपुर ।  समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय पालुङले कैलाश गाउँपालिकाका विभिन्न वडामा चारदिने जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।

असार १९ देखि २२ गतेसम्म वडा नं. १, २, ५ र ६ का विभिन्न बस्तीमा पुगेको प्रहरी टोलीले अवैध लागूऔषध (गाँजा र अफिम) को खेती तथा ओसारपसार नियन्त्रण, चोरी–डकैती रोकथाम, लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरण र सामाजिक विकृतिविरुद्ध जनचेतनामूलक माइकिङ तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो।

अभियानको नेतृत्व ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) गोविन्द भण्डारीले स्वयं गरेका थिए। उनी प्रहरी टोलीसहित गाउँ–गाउँ पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षा सचेतना फैलाउनुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए।

स्थानीयवासीले प्रहरीको यस्तो प्रत्यक्ष उपस्थितिलाई सकारात्मक रूपमा लिँदै समुदायसँगको सम्बन्ध अझ बलियो बनेको बताएका छन्। घरदैलोमै पुगेर नागरिकसँग संवाद गर्ने प्रहरीको यस अभ्यासले अपराध न्यूनीकरण, शान्ति–सुरक्षा सुदृढीकरण तथा प्रहरीप्रतिको जनविश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage