मेलम्ची बन्द हुँदा काठमाडौंमा खानेपानी संकट

286
shares

काठमाडौं । मनसुनका कारण मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति रोकिएपछि काठमाडौं उपत्यकामा खानेपानीको अभाव फेरि चर्किएको छ। प्रमुख आपूर्ति स्रोत बन्द भएसँगै धेरै क्षेत्रमा नियमित रूपमा धारामा पानी आउन छाडेको छ भने उपभोक्ता निजी ट्यांकरको पानीमा निर्भर हुन बाध्य भएका छन्।

मेलम्ची खानेपानी विकास समितिले असार १९ गतेदेखि आयोजना अस्थायी रूपमा बन्द गरेको हो। मनसुनसँगै मेलम्ची नदीमा बाढी, पहिरो, लेदो र गेग्रानको जोखिम बढेपछि सुरुङ तथा अस्थायी संरचनाको सुरक्षा ध्यानमा राख्दै पानी काठमाडौं पठाउने कार्य रोकिएको जनाइएको छ। हरेक वर्ष वर्षायाममा यस्तै जोखिमका कारण केही समयका लागि आयोजना बन्द गर्ने अभ्यास रहेको छ।

मेलम्ची सञ्चालनमा रहँदा काठमाडौं उपत्यकामा दैनिक करिब १७ करोड लिटर पानी आपूर्ति हुँदै आएको थियो। आयोजना बन्द भएपछि अहिले वैकल्पिक स्रोतबाट मात्रै वितरण भइरहेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार उपत्यकामा दैनिक करिब ४५ करोड लिटर खानेपानीको आवश्यकता भए पनि हाल विभिन्न स्रोतबाट करिब २२ करोड लिटर मात्र उपलब्ध भइरहेको छ। यसले दैनिक झन्डै २३ करोड लिटर पानीको अभाव सिर्जना गरेको छ।

केयुकेएलले बागमती स्रोत सञ्चालनमा ल्याउने तयारीसँगै भूमिगत पानीको उपयोग बढाएर आपूर्ति व्यवस्थापन गर्ने प्रयास गरिरहेको जनाएको छ। तर मनसुन अवधिभर उपभोक्ताले केही कठिनाइ भोग्नुपर्ने अवस्था रहने पनि संस्थाले स्वीकार गरेको छ।

हाल खानेपानी वितरण बीडीएस प्रणालीमार्फत भइरहेको छ। सुन्दरीजलमा प्रशोधन गरिएको पानी सेवा जलाशय हुँदै विभिन्न वितरण केन्द्रमार्फत उपभोक्तासम्म पुर्‍याइँदै आए पनि मेलम्चीको पानी नआउँदा वितरण तालिका प्रभावित भएको केयुकेएलको भनाइ छ।

खानेपानीको अभावसँगै निजी ट्यांकरको माग पनि उल्लेखनीय रूपमा बढेको छ। उपभोक्ताले माग बढेको अवसरमा केही ट्यांकर व्यवसायीले बढी शुल्क लिन थालेको गुनासो गरेका छन्। क्षेत्रअनुसार ट्यांकरको शुल्क फरक–फरक भए पनि संकटका बेला मूल्य थप बढ्ने गरेको बताइन्छ।

खानेपानी विज्ञहरूका अनुसार काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या, भू–जलमा अत्यधिक निर्भरता, पुरानो पाइपलाइन प्रणाली र वितरणका क्रममा हुने चुहावटका कारण समस्या झन् जटिल बन्दै गएको छ। केयुकेएलको अनुमानअनुसार वितरण प्रणालीमै करिब ३० प्रतिशत पानी चुहावट हुने गरेको छ।

हाल उपत्यकामा ८ लाखभन्दा बढी धारा जडान भए पनि अधिकांश क्षेत्रमा सातामा एक वा दुई पटक मात्रै पानी वितरण हुने अवस्था छ। मेलम्ची बन्द भएपछि त्यो तालिका समेत प्रभावित भएको छ।

केयुकेएलका अनुसार मनसुनपछि नदीको बहाव र पानीको गुणस्तर सामान्य अवस्थामा फर्किएसँगै मेलम्ची आयोजना पुनः सञ्चालन गरी नियमित आपूर्ति सुरु गरिनेछ।


divya collage
unigloble collage