किशोरको शव मोटरसाइकलमा लैजान खोज्दा भारतीय नागरिक पक्राउ

312
shares

सप्तरीमा एक किशोरको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर लैजान खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना क्षेत्रमा १४ वर्षीय एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर घटनास्थलबाट लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृत्युको कारण दुर्घटना हो वा अन्य कुनै आपराधिक घटना हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामका १४ वर्षीय छोरा मोहम्मद सादिक हुन्।

प्रहरी चौकी बिसनपुरबाट खटिएको टोलीले शंकास्पद मोटरसाइकललाई पछ्याउने क्रममा घटनास्थलबाट केही दूरीमा शव फालेर भाग्न खोजिएको अवस्थामा एक जनालाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने व्यक्ति भारतको मधुवनी जिल्लाका २८ वर्षीय मो. सादर नट रहेको प्रहरीले जनाएको छ। उनी सप्तरीको बोदेबरसाईन क्षेत्रमा रहेको एक मासु पसलमा काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनापछि आक्रोशित स्थानीयवासी र मृतकका आफन्तले बिहीबार बिहान शम्भुनाथ नगरपालिका–६ कठौना क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि यातायात सञ्चालन पुनः सामान्य भएको छ।

प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान अघि बढाइएको र फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ।


divya collage
unigloble collage