२४ सै घण्टा सडकमा खटिने ट्राफिक प्रहरीलाई एसपी नरेशराज सुवेदीद्वारा निर्देशन

403
shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले ट्राफिक प्रहरी कर्मचारीहरूको रोलकल (Roll Call) लिँदै सेवा प्रवाह, अनुशासन, व्यावसायिक आचरण तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन विशेष निर्देशन दिनुभएको छ।

रोलकलका क्रममा एसपी सुवेदीले ट्राफिक प्रहरी आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको व्यवहारबाट नै नेपाल प्रहरीको छवि झल्किने उल्लेख गर्दै सेवाग्राहीप्रति सदैव विनम्र, शिष्ट र सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभयो।

उहाँले चालक वा अन्य सेवाग्राहीसँग संवाद गर्दा अनिवार्य रूपमा टाढैबाट ‘नमस्ते’ गरी सम्मानपूर्वक कुराकानी सुरु गर्न, ड्युटीका क्रममा उच्च अनुशासन कायम राख्न तथा व्यक्तिगत आचरणलाई मर्यादित बनाउँदै संगठनको गरिमा उँचो राख्न आग्रह गर्नुभयो।

त्यसैगरी, सडकमा नागरिकलाई कुनै अनावश्यक दुःख वा असहजता नहुने गरी छिटो, छरितो र पारदर्शी सेवा प्रदान गर्न तथा सडक सुरक्षा र प्रभावकारी निगरानीका लागि उपलब्ध गराइएका आधुनिक प्रविधि, जस्तै भिडियो वाकीटकी र बडी–वोर्न क्यामेराको पूर्ण तथा सही प्रयोग गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।

एसपी सुवेदीले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माणमा सबै ट्राफिक प्रहरी कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।


divya collage
unigloble collage