‘निष्ठापूर्वक काम गर्नेलाई जथाभावी आरोप लगाउनु हुँदैन’ : आईजीपी कार्की

260
shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा व्यक्त गरिने धारणा तथ्यमा आधारित र मर्यादित हुनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले लामो समयदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारी तथा प्रहरी अधिकारीमाथि आधारहीन आरोप लगाउने प्रवृत्तिले संस्थाको मनोबल र कार्यसम्पादनमा नकारात्मक असर पार्ने बताए।

बैठकमा नेपाल प्रहरीसँग सम्बन्धित विषयमा सांसदहरूले प्रश्न तथा आरोप उठाएपछि कार्कीले सार्वजनिक पदमा बसेर बोल्दा शब्द र शैलीप्रति संवेदनशील हुनुपर्ने धारणा राखे। उनले कुनै पनि संस्थाको बैठक जथाभावी आरोप लगाउने थलो बन्न नहुने बताए। ‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर यहाँ जे मन लाग्यो त्यही भन्ने होइन। कुनै पनि ठाउँको सामान्य मर्यादा हुन्छ,’ उनले भने।

प्रहरी प्रशासनसम्बन्धी विभिन्न उजुरी तथा निवेदन आउने गरेको उल्लेख गर्दै उनले सबै उजुरीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए। उजुरीका आधारमा सम्बन्धित विषयको तथ्य र वास्तविकता परीक्षण गर्नुपर्ने उनको भनाइ थियो।

कार्कीले तथ्यहीन आरोप र अनावश्यक टिप्पणीले वर्षौँदेखि जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीको मनोबलमा असर पार्न सक्ने बताए। सार्वजनिक निकायका बैठकमा संस्थागत मर्यादा र शिष्टता कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उनले बताए। उनले आफू नेतृत्वमा रहेको प्रहरी संगठनमाथि पनि प्रश्न उठ्न सक्ने स्वीकार गर्दै त्यसका लागि सम्बन्धित विषयमा तथ्य र प्रमाणका आधारमा छलफल हुनुपर्नेमा जोड दिए।

बैठकमा सांसद खगेन्द्र सुनारलगायतले नेपाल प्रहरीको कामकारबाहीसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए। त्यसक्रममा प्रहरीमाथि लगाइएका आरोप र टिप्पणीप्रति आईजीपी कार्कीले आफ्नो धारणा राखेका हुन्।

महानिरीक्षक कार्कीले सार्वजनिक सुनुवाइ तथा संसदीय छलफलको उद्देश्य सुधारका लागि तथ्यमा आधारित बहस हुनुपर्ने भन्दै आरोप लगाउँदा पनि संस्थागत मर्यादा र जिम्मेवार अभिव्यक्तिको ख्याल गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।


divya collage
unigloble collage