राप्रपाका ७ सांसदले ह्विप उल्लंघन गर्दै थापाको पक्षमा दिए मत

260
shares

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू नै पक्ष र विपक्षमा विभाजित भएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू अनुपस्थित रहेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले उपस्थित ५८ सांसदमध्ये ५७ जनाको समर्थन पाएका हुन्। एक सांसदले भने विपक्षमा मतदान गरेका छन्।

विश्वासको मतका क्रममा राप्रपाका सात सांसदले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे। पार्टी केन्द्रले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीसहित संसदीय दलका नेतालाई जिम्मेवारीबाट हटाएको पत्र सभामुखसमक्ष बुझाइसकेको अवस्थामा उनीहरूले केन्द्रको निर्णयविपरीत थापाको पक्षमा मत दिएका हुन्।

मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने राप्रपाका सांसदमा उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठ छन्।

राप्रपाका अन्य सांसद भने बैठकमा सहभागी भएनन्। यससँगै प्रदेश सरकारलाई लिएर राप्रपाभित्र देखिएको विवाद प्रदेशसभाको मतदानसम्मै पुगेको स्पष्ट भएको छ।

यस घटनाले नेपाली संसदीय राजनीतिमा पार्टीभित्रको विभाजन र ‘फ्लोर क्रस’को बहसलाई पुनः सतहमा ल्याएको छ। यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २२ सांसदले पार्टीको ह्विप उल्लंघन गर्दै देउवाको पक्षमा मतदान गरेका थिए।

त्यस्तै, कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसद—प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेका थिए।

वागमतीमा पनि राप्रपाका सांसदहरू पक्ष र विपक्षमा विभाजित भएपछि मुख्यमन्त्री थापाको विश्वासको मत राजनीतिक रूपमा अर्थपूर्ण बनेको छ। कांग्रेसका सांसदहरू अनुपस्थित रहेको अवस्थामा ५७ मत प्राप्त गर्दै थापाले तत्कालका लागि सरकारको निरन्तरता सुनिश्चित गरेका छन्।


divya collage
unigloble collage