भारतीय भन्सार एजेन्टको पेनडाउनले विराटनगर भन्सारमा २२ करोड राजस्व प्रभावित

338
shares

विराटनगर । भारतको ल्यान्ड पोर्ट अफ इन्डिया (आईसीपी) मा कार्यरत भन्सार एजेन्टहरूले दुई दिनदेखि पेनडाउन गरेपछि विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ। भारतीय भन्सारतर्फ मालवाहक सवारीसाधनको जाँचपास रोकिँदा सोमबार र मंगलबार मात्रै करिब २२ करोड रुपैयाँ राजस्व संकलन हुन नसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। कार्यालयमा दैनिक औसत ११ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको छ।

भारतीय भन्सार कर्मचारी तथा सीमा सुरक्षा बल (एसएसबी) बाट अनावश्यक दुःख दिने गरिएको, जाँचपास प्रक्रिया ढिलो हुने गरेको र कम्प्युटर प्रणाली प्रभावकारी नभएको भन्दै एजेन्टहरूले पेनडाउन गरेका हुन्। पेनडाउनका कारण भारततर्फ जाँचपास भइसकेका मालवाहक सवारीसाधनसमेत नेपाल प्रवेश गर्न सकेका छैनन्। विराटनगर भन्सार एजेन्ट संघका अनुसार भारतीय भन्सार परिसरमा एक हजारभन्दा बढी मालवाहक सवारीसाधन रोकिएका छन्।

संघका अध्यक्ष देवकीनन्दन शर्माले जाँचपास भइसकेका सवारीसाधनलाई समेत एसएसबीले पुनः चेकजाँचका नाममा रोक्ने गरेको बताए। यसका कारण व्यवसायीले अनावश्यक पार्किङ शुल्क तिर्नुपरेको उनको भनाइ छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले दुई दिनदेखि भारतीय भन्सारबाट जाँचपास भएर कुनै पनि मालवाहक सवारीसाधन विराटनगर आईसीपीमा नआएको पुष्टि गरे। एजेन्टहरूले आफ्ना माग औपचारिक रूपमा सम्बन्धित भन्सार कार्यालयमा पेस नगरेकाले वार्ता हुन नसकेको उनले बताए। यद्यपि, बुधबारदेखि भन्सारसम्बन्धी काम सुचारु हुने जानकारी प्राप्त भएको श्रेष्ठले बताए।


divya collage
unigloble collage