भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षण र भविष्यप्रति राज्य गम्भीर बन्न अखिल (क्रान्तिकारी) को आग्रह

741
shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा भविष्य सुनिश्चित गर्न राज्य गम्भीर बन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले माग गरेको छ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै बालबालिका घरबारविहीन, अभिभावकविहीन तथा गम्भीर रूपमा प्रभावित भएको जनाएको छ। अभिभावक, घर र सुरक्षित वातावरण गुमाएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक पुनर्स्थापना र भविष्य सुनिश्चित गर्नु राज्यको संवैधानिक, सामाजिक तथा मानवीय दायित्व भएको संगठनले उल्लेख गरेको छ।
संगठनले प्रभावित बालबालिकाको तत्काल उद्धार, संरक्षण र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारसँग ७ बुँदे माग अघि सारेको छ।
अखिल (क्रान्तिकारी) का प्रमुख मागहरू :
१. प्रभावित सबै बालबालिकाको तत्काल तथ्यांक संकलन, जोखिम वर्गीकरण र सुरक्षित संरक्षणको व्यवस्था गर्नुपर्ने।
२. रसुवा, नुवाकोट र धादिङमा सुरक्षित तथा बालमैत्री नमुना आवासीय विद्यालय स्थापना गर्नुपर्ने।
३. प्रभावित बालबालिकालाई आवास, भोजन, शिक्षा, स्वास्थ्य, शैक्षिक सामग्री तथा मनोसामाजिक परामर्श निःशुल्क उपलब्ध गराउनुपर्ने।
४. विछोडिएका परिवारको पुनर्मिलन तथा बालबालिकाको सम्पत्ति, क्षतिपूर्ति, बीमा र कानुनी अधिकार सुरक्षित गर्नुपर्ने।
५. बालश्रम, बालविवाह, बेचबिखन, हिंसा तथा शोषणबाट प्रभावित बालबालिकालाई विशेष संरक्षण र निगरानीमा राख्नुपर्ने।
६. शिक्षा, छात्रवृत्ति तथा सीप विकासमार्फत बालबालिकाको आत्मनिर्भर बन्नेसम्म दीर्घकालीन संरक्षण सुनिश्चित गर्नुपर्ने।
७. तीनै तहका सरकारको स्पष्ट जिम्मेवारी, पर्याप्त बजेट, समयमै कार्यान्वयन र पारदर्शी सार्वजनिक अनुगमन सुनिश्चित गर्नुपर्ने।
अखिल (क्रान्तिकारी) ले प्रभावित बालबालिकाको सुरक्षा र भविष्य निर्माणलाई साझा जिम्मेवारीका रूपमा लिन सरकार, सुरक्षा निकाय, विद्यालय, बालअधिकारकर्मी, नागरिक समाज, विकास साझेदार, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई आ–आफ्नो क्षेत्रबाट तत्काल सहयोग र पहल गर्न अपिल गरेको छ।
“अभिभावक गुमाएका बालबालिकाको अभिभावक राज्य बन्नुपर्छ। विपद्को राहतसँगै उनीहरूको सुरक्षित वर्तमान र उज्ज्वल भविष्य सुनिश्चित गर्नु राज्यको दायित्व हो,” विज्ञप्तिमा उल्लेख छ।


अखिल (क्रान्तिकारी) ले बालबालिकाको अधिकार र राज्यको दायित्व सुनिश्चित गर्न निरन्तर खबरदारी गर्दै आवश्यक समन्वय, सहकार्य र रचनात्मक पहल गर्ने प्रतिबद्धता समेत जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083