साउदीका वायुसेवालाई पोखरा र भैरहवा विमानस्थलमा उडानको बाटो खुला
वि.सं.२०८३ असोज १ बिहीवार २१:२३
shares

काठमाडौं । नेपाल सरकारले साउदी अरबका वायुसेवा कम्पनीलाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न सक्ने आधार तयार गरेको छ।
नेपाल र साउदी अरबबीच १५ भदौमा द्विपक्षीय हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएपछि ती विमानस्थलमा साउदीका वायुसेवा कम्पनीलाई उडान गर्न बाटो खुलेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार सम्झौताले दुवै विमानस्थलमा साउदीका जहाज सञ्चालन गर्न आवश्यक कानुनी आधार प्रदान गरेको छ।
नेपालसँग पर्याप्त अन्तर्राष्ट्रिय उडानका जहाज नभएको अवस्थामा साउदीका वायुसेवा कम्पनीले नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सक्ने उनको भनाइ छ। यसबाट नेपालमा थप हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटक आगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र साउदीबीच हवाई सेवा सम्झौताको प्रारम्भिक हस्ताक्षर सन् १९९९ मै भएको थियो। त्यतिबेला दुवै देशका वायुसेवा कम्पनीलाई सातामा ५ हजार ६ सय तथा वार्षिक २ लाख ९१ हजार २ सय सिट बराबरको उडान अधिकार तोकिएको थियो।
नयाँ सम्झौताले यात्रु तथा मालवाहक हवाई सेवा विस्तारसँगै पर्यटन, व्यापार र लगानीका अवसर बढाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। साथै, दुई देशबीचको आर्थिक तथा जनस्तरीय सम्बन्ध थप विस्तार गर्न पनि सम्झौता उपयोगी हुने बताइएको छ।
सहसचिव आचार्यका अनुसार सम्झौतापछि दुवै देशका तोकिएका वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका स्थापित मान्यता र अभ्यासअनुसार नियमित उडान सञ्चालन गर्न आवश्यक कानुनी तथा संस्थागत आधार प्राप्त भएको छ।
नेपालका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भए पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। त्यसैले सरकारले नयाँ गन्तव्य र थप वायुसेवा कम्पनीमार्फत अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने प्रयास गरिरहेको छ।
हाल साउदी अरबबाट कुनै पनि वायुसेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेको छैन। नेपालबाट भने हिमालय एयरलाइन्सले काठमाडौं–दम्माम र काठमाडौं–रियाद उडान गर्दै आएको छ भने नेपाल वायुसेवा निगमले काठमाडौं–दम्माममा उडान सञ्चालन गरिरहेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले हालसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ। नेपालले थप मुलुकसँग यस्ता सम्झौता विस्तार गर्ने नीति लिएको छ। पछिल्लोपटक सन् २०२४ मा स्विट्जरल्यान्ड र सन् २०२३ मा रुवान्डासँग हवाई सेवा सम्झौता भएको थियो।





















