त्रिभुवन विमानस्थलबाट एक महिनामा सुनसहित ४५ जना पक्राउ

338
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनाको अवधिमा १ किलो ६ सय ४३ ग्राम सुनसहित ४५ जना पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ देखि भदौ मसान्तसम्म गरिएको सुरक्षा निगरानी तथा जाँचका क्रममा अवैध रूपमा सुन नेपाल भित्र्याउने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूबाट बरामद सुनको अनुमानित मूल्य ४ करोड २५ लाख ७३ हजार १ सय ८४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा विदेशबाट नेपाल फर्किएका नेपाली यात्रुलाई विभिन्न प्रलोभनमा पारेर तस्करीको सुन ओसार्न प्रयोग गरिएको देखिएको सुरक्षा कार्यालयले जनाएको छ।

बरामद सुन तथा पक्राउ परेका व्यक्तिमाथि सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, सोही अवधिमा विमानस्थलबाट भन्सार छली ल्याइएका विद्युतीय सामग्रीसहित १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट मोबाइल फोन, ल्यापटप, आईप्याडलगायतका सामग्री बरामद गरिएको हो।

प्रहरीका अनुसार बरामद विद्युतीय सामग्रीको कुल अनुमानित मूल्य ८८ लाख २२ हजार रुपैयाँ रहेको छ। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयले अवैध वस्तुको ओसारपसार नियन्त्रण गर्न जोखिममा आधारित जाँच, एक्स–रे स्क्रिनिङ, निगरानी तथा सूचनाको संकलनलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रहरीले विमानस्थलबाट यात्रा गर्दा भन्सार तथा प्रचलित कानुनी व्यवस्था पालना गर्न यात्रुलाई आग्रह गरेको छ। साथै, तस्कर वा अन्य व्यक्तिको प्रलोभन, दबाब अथवा प्रभावमा परेर गैरकानुनी सामान बोक्न वा ओसारपसार नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083