नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन–२०८३’ अन्तर्गत कोशी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण
वि.सं.२०८३ असोज ३ शनिवार ०७:४१
shares

विराटनगर । ‘नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३’ अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी सिद्धी विक्रम शाहको नेतृत्वमा खटिएको निरीक्षण टोलीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा टोलीले तालिम केन्द्रको समग्र व्यवस्थापन, कार्यसम्पादन तथा विभिन्न शाखाहरूको स्थलगत अवलोकन एवं निरीक्षण गरेको थियो। टोलीले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूको कार्यसम्पादन र तालिमसम्बन्धी गतिविधिबारे समेत जानकारी लिएको थियो।
निरीक्षणपश्चात् एआईजी शाहले कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै व्यावसायिक अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता, दक्षता अभिवृद्धि र सेवाग्राहीमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।
उहाँले प्रहरी संगठनको कार्यदक्षता अभिवृद्धिका लागि नियमित मूल्याङ्कन, अनुशासन र व्यावसायिक क्षमता विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै तोकिएको जिम्मेवारी इमानदारी, निष्पक्षता र उच्च मनोबलका साथ निर्वाह गर्न आग्रह गर्नुभयो।
निरीक्षण टोलीले तालिम केन्द्रका गतिविधि तथा व्यवस्थापनका विभिन्न पक्षको अवलोकन गरी आवश्यक सुझावसमेत दिएको जनाइएको छ।






















