सुनकोशीबाट महाधिवेशन प्रतिनिधिमा सन्तोष घिमिरेको उम्मेदवारी घोषणा

442
shares

सिन्धुली । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुलीको सुनकोशी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। यसै क्रममा सुनकोशी गाउँपालिकाका युवा नेता सन्तोष घिमिरेले महाधिवेशन प्रतिनिधि (दलित कोटा) तर्फ आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

घिमिरेले एक विज्ञप्तिमार्फत महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले क्षेत्रीय प्रतिनिधिहरूप्रति पूर्ण विश्वास व्यक्त गर्दै आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्।

विज्ञप्तिमा घिमिरेले भनेका छन्, “महाधिवेशनमा मेरो उम्मेदवारी महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा हुँदा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिज्यूहरूप्रति पूर्ण विश्वास रहेको हुँदा मैले यो उम्मेदवारी दिने घोषणा गर्दछु।”

सुनकोशी गाउँपालिकाका सातवटै वडाबाट पदेनसहित १६८ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा निर्वाचित भइसकेका छन्। आगामी क्षेत्रीय अधिवेशनमा तिनै क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।

दलित समुदायको प्रतिनिधित्व गर्दै लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका घिमिरेले पार्टी संगठनमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। उनका समर्थकहरूले उनलाई पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्न सक्ने युवा नेताका रूपमा प्रस्तुत गरेका छन्।

घिमिरेले क्षेत्रीय प्रतिनिधि छेडुप लामा तथा सातवटै वडाका नवनिर्वाचित वडा सभापतिहरू राजु कोइराला, बिजु मोक्तान, मदन आचार्य, रजिन मगर, अर्जुन थापा, दामोदर उप्रेती र चासुम थोकरलगायत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिबाट विश्वास र सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

घिमिरेको उम्मेदवारी घोषणासँगै सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसको आगामी क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक गतिविधि थप बढेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083