बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगको स्पष्टीकरण

1.47K
shares

काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण सोधिएकाहरूमा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ र रूपन्देही–२ का निकोलस भुसाल रहेका छन् । यस्तै, भक्तपुर–२ कै उम्मेदवार जानुका पाठकलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगका अनुसार बालेनमाथि सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी गरेको आरोप छ । महेश बस्नेतलाई बालेनलाई ‘छाउरा’ भनेको लगायतका अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।

यसैगरी, हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिकालाई प्रयोग गरेको र टिसर्ट लगाउन लगाएको विषयमा आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । निकोलस भुसाललाई भने ‘जेनजी आन्दोलन’ को आइकोनिक जुत्तालाई आफ्नो चुनाव चिह्न भन्दै प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यस्तै, भक्तपुर–२ की उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी गर्दै ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले उनीसँग पनि स्पष्टीकरण मागेको हो ।

निर्वाचन आयोगले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ ।