ओखलढुङ्गामा सुतिरहेको अवस्थामा राई दम्पतीको बीभत्स हत्या, एक महिनामै दोस्रो घटना

1.65K
shares

ओखलढुङ्गा। जिल्लाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक दम्पतीको बीभत्स हत्या भएको छ । एक महिना अगाडि मगर दम्पतीको हत्या भएको स्थान नजिकै यसपटक राई दम्पती मृत अवस्थामा फेला परेका हुन् ।

सोही वडाको बोहोरे टोलमा बस्दै आएका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीया चन्द्रमाया राईको गएराति हत्या भएको जिल्ला प्रहरीले जनाएको छ ।

पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दोस्रो तलाको सुत्ने कोठामा खाटमै सिरक ओढेको अवस्थामा चन्द्रविक्रम राईको शव भेटिएको थियो भने उनकी श्रीमती चन्द्रमाया राईको शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा फेला परेको हो ।

घटनाबारे आज बिहान करिब ७स्४० बजे प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो । सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । उनका अनुसार घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ ।

यसअघि गत पुस १५ गते भदौरेकै गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्यसभन्दा अघि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल ९कार्की० को पनि हत्या भएको थियो । ती घटनामा संलग्न भएको आरोपमा मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ परेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एकै क्षेत्रमा शृङ्खलाबद्ध रूपमा हत्या भइरहनुले स्थानीयवासीमा त्रास फैलिएको छ । उस्तै प्रकृतिको अर्को घटना भएपछि नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ । दोषीलाई तत्काल पत्ता लगाई कडा कारबाही गर्न स्थानीयवासीले प्रहरीसँग माग गरेका छन् ।


unigloble collage
baneshwor multiple campus ad -2083