प्रचण्डको चेतावनी: नेपाल विश्व भूराजनीतिक खेलको असरबाट अछुतो छैन
वि.सं.२०८२ माघ २६ सोमवार १३:१७
shares

२६ माघ,काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अन्तर्राष्ट्रिय स्तरको भूराजनीतिक प्रभाव देखिन थालेको बताएका छन्। विश्वभर लोकतन्त्रलाई कमजोर पार्ने प्रतिक्रियावादी शक्तिहरूको गतिविधि नेपालसम्म आइपुगेको उनको दाबी छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जाललाई मात्र आधार बनाएर केही शक्तिहरू लोकप्रियता बटुल्न खोजिरहेको बताए। यस्ता प्रवृत्तिलाई प्रयोग गरेर विश्व साम्राज्यवादले विभिन्न देशमा राजनीतिक चलखेल गरिरहेको र त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको उनको भनाइ थियो।
उनले विचार, सिद्धान्त, इतिहास र राजनीतिक विरासत नभएकाहरू सामाजिक सञ्जालकै भरमा उदाउने प्रयासमा रहेको उल्लेख गर्दै त्यसको प्रतिवादका लागि नयाँ संकल्प र स्पष्ट राजनीतिक दिशाको आवश्यकता औँल्याए। यही उद्देश्यसहित आफूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर अघि बढेको उनले बताए।
प्रचण्डका अनुसार विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको संघर्ष, सामाजिक न्याय, विभेद अन्त्य, रोजगारी सिर्जना र आर्थिक समृद्धिलाई केन्द्रमा राखिएका नेकपाका नीति तथा कार्यक्रमले जनतामा पुनः आशा जगाउन थालेका छन्।
उनले अहिलेको समय प्रविधि र सामाजिक सञ्जालको भए पनि जनतासँग प्रत्यक्ष सम्पर्क, घरदैलो अभियानजत्तिकै प्रभावकारी अरू कुनै माध्यम नभएको धारणा राखे। नयाँ विचार र नयाँ राजनीतिक एजेन्डासहित अघि बढेको पार्टी नेकपा मात्रै भएको दाबी पनि उनले गरे।
कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले तथा नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत विभिन्न क्षेत्रका व्यक्तिहरू नेकपामा प्रवेश गरेका थिए।















