रवि लामिछाने फागुन २१ को चुनाव दलका लागि होइन, देशका लागि हो: रवि लामिछाने
वि.सं.२०८२ माघ २६ सोमवार १३:३३
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्यसँग जोडिएको चुनावका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार यो चुनाव कुनै दल वा नेताले जित्ने नभई सिंगो देशले जित्ने चुनाव हो।
रूपन्देही–१ अन्तर्गत देवदहको खैरेनीमा ‘जनसम्पर्क’ कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विगतका निर्वाचनमा बारम्बार दल र नेताहरू नै विजयी हुँदै आएको उल्लेख गरे। तर अब जनताले देशको पक्षमा फैसला गर्ने समय आएको उनको भनाइ थियो।
उनले रास्वपाभित्र पदका लागि होइन, जिम्मेवारीका आधारमा काम बाँडिएको स्पष्ट पारे। पार्टीमा बालेन्द्र शाह (बालेन) नजिकका व्यक्तिहरू समाहित भएको सन्दर्भ उल्लेख गर्दै लामिछानेले नेतृत्वभन्दा पनि उत्तरदायित्वलाई प्राथमिकता दिइएको बताए।
लामिछानेले आगामी पाँच वर्षसम्म एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने दाबीसमेत गरे। स्थायित्व र स्पष्ट नेतृत्वबाट मात्रै देशले सही दिशा पाउने उनको तर्क थियो।
घोषणापत्रभन्दा काम महत्वपूर्ण हुने उल्लेख गर्दै उनले विगतमा अन्य दलले पूरा गर्न नसकेका काम रास्वपाले गरेर देखाउने प्रतिबद्धता जनाए।
रास्वपाका अनुसार देवदहबाट सुरु भएको रूपन्देही जिल्लास्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुनेछ। त्यसपछि सभापति लामिछाने कपिलवस्तु प्रवेश गर्ने कार्यक्रम रहेको छ।
रास्वपा रूपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार बाटोमा पर्ने २६ स्थानमा समय अभावका कारण लामिछानेले छोटो रूपमा अभिवादन गर्दै अघि बढ्नेछन्।
















