वीरगञ्जमा छापामारीका क्रममा एपीएफमाथि आक्रमण
तीन सुरक्षाकर्मी घाइते
वि.सं.२०८२ माघ २६ सोमवार १३:४५
shares

जनकपुरधाम। वीरगञ्ज महानगरपालिका,आदर्शनगरमा भन्सार छलिका सामान नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरी बल र भन्सार कार्यालयको संयुक्त टोलीमाथि स्थानीयको समूहले आक्रमण गरेको छ। घटनामा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सरकारी सवारीसाधनमा पनि क्षति पुगेको छ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका अनुसार माघ २६ गते बिहान करिब साढे १० बजे विशेष सूचनाका आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो। त्यहाँ अवैध रूपमा भन्सार छलीका सामान लुकाएर राखिएको सूचना प्राप्त भएपछि कारबाही अघि बढाइएको थियो।
छापामारीमा एपीएफ सीमा सुरक्षा गुल्म वीरगञ्जका डीएसपी विकास अधिकारीको नेतृत्वमा १० जना, गण मुख्यालय पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना तथा वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारसहित दुई जना सहभागी थिए।
बरामद गरिएको सामान लोड गर्ने क्रममा करिब २० देखि २५ जनाको समूहले ढुंगामुढासहित सुरक्षा टोलीमाथि आक्रमण गरेपछि अवस्था तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ।
आक्रमणका क्रममा बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको सरकारी गाडीको अगाडिको सिसा फुटेको छ भने एपीएफको स्कार्पियो गाडीमा पनि क्षति पुगेको छ।
घटनामा सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको छ र उनको मोबाइल फोन समेत खोसिएको छ। त्यस्तै हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडा र सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको जनाइएको छ।
संयुक्त टोलीले करिब पाँच लाख रुपैयाँ बराबरका भन्सार छलिका कपडाका पाँच पोका बरामद गरेको छ। ती सामग्री भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसँग समन्वय भइरहेको छ।
















