प्रतिनिधिसभा निर्वाचनको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइँदै

1.39K
shares

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम परिणामसहितको समग्र प्रतिवेदन बिहीबार निर्वाचन आयोगले रामचन्द्र पौडेल समक्ष बुझाउने भएको छ।

आयोगका अनुसार भोलि बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिनेछ। त्यसलगत्तै दिउँसो राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन बुझाइने कार्यक्रम तय गरिएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले प्रतिवेदन बुझाएपछि बेलुका ५ः३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनसमेत आयोजना गरिने जानकारी दिए।

प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद निर्वाचित भएका छन्, जसले एकल सरकार गठनको सम्भावना बलियो बनाएको छ।

समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने व्यवस्था अनुसार रास्वपाबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेकपाबाट ९ तथा अन्य दलबाट बाँकी सांसद निर्वाचित भएका छन्।

त्यस्तै, प्रत्यक्षतर्फ १६५ सिटमध्ये रास्वपाले १२५ सिट जित्दै अग्रता कायम गरेको छ भने कांग्रेस १८, एमाले ९, नेकपा ८, अन्य दल तथा स्वतन्त्र उम्मेदवारले बाँकी सिटमा विजय हासिल गरेका छन्।

निर्वाचन आयोगले कानुनी प्रावधानअनुसार ‘क्लस्टर’ प्रणालीमा आधारित भई समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने तयारी पूरा गरेको जनाएको छ।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।