अमेरिकी युद्धविमान अवतरण अस्वीकारपछि श्रीलंकाका राष्ट्रपति अन्तर्राष्ट्रिय चर्चामा
वि.सं.२०८२ चैत ७ शनिवार १२:४५
shares

अमेरिकी सैन्य आग्रहलाई अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिसानायके अन्तर्राष्ट्रिय चर्चामा आएका छन्।
द हिन्दुका अनुसार अमेरिकाले जिबुटीस्थित आफ्नो सैन्य आधारबाट दुई वटा युद्धविमान मात्तला अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन चाहेको थियो। ती विमानमा प्रत्येकमा आठवटा एन्टी–शिप मिसाइल जडित रहने जानकारी श्रीलंकाली संसदमा प्रस्तुत गरिएको थियो।
राष्ट्रपति दिसानायकेले संसदमा स्पष्ट पार्दै भने, “हामीले ती युद्धविमान अवतरण गर्न अनुमति दिएनौँ, किनकि हाम्रो नीति आफ्नो भूमिलाई कुनै पनि सैन्य तनाव बढाउने गतिविधिमा प्रयोग हुन नदिने हो।”
यस निर्णयपछि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विश्लेषकहरूले श्रीलंकालाई “कम्युनिस्ट सरकार” भन्दै टिप्पणी गरेका छन्। तर कोलम्बोस्थित मिडियाले यस्तो टिप्पणीको खण्डन गर्दै श्रीलंकामा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकार रहेको स्पष्ट पारेका छन्।
अमेरिका र इरानबीच बढ्दो तनावका बीच आएको यो निर्णयलाई श्रीलंकाभित्र कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।















