सिरहामा मोटरसाइकल मर्मतको भुक्तानी विवादमा झडप, ६ जना घाइते

1.03K
shares

सिरहा। मोटरसाइकल मर्मतको भुक्तानी नतिरेको विषयमा विवाद चर्किँदा सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटना ६ चैत अपराह्न करिब ४:५० बजे भएको हो। स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच सामान्य विवादबाट सुरु भएको झडपले पछि उग्र रूप लिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा खटिएको टोलीले स्थिति नियन्त्रणमा लिएको थियो।

झडपमा सलमान पक्षका ४ जना र हासिम पक्षका २ जना घाइते भएका छन्। सलमान पक्षका घाइते हुनेहरूमा भुटनी खातुन (४०), रहमद दफाली (३५), इरफान मियाँ (५८) र लालबाबु मियाँ (२६) रहेका छन्। उनीहरूलाई टाउको, हात तथा गर्दनमा चोट लागेको छ।

त्यस्तै हासिम पक्षका १९ वर्षीय अरमान हुसेन र आरिफ दफाली घाइते भएका छन्। उनीहरूलाई क्रमशः टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने अन्य घाइतेहरूको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।