रुकुम पूर्वमा भारी हिमपातः मध्यपहाडी लोकमार्ग अवरुद्ध

२५० बढी यात्रु अलपत्र

1.03K
shares

रुकुम पूर्व । जिल्लामा गएरातिदेखि भइरहेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत भुमे गाउँपालिका–१ को लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट छुटेका रात्रिबसहरू समेत सो क्षेत्रमा फसेका छन्।

प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार लुकुम–पातिहाल्ना खण्डमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल रोकिएका छन्। ती सवारीमा रहेका २५० जनाभन्दा बढी यात्रुहरू बीच बाटोमै अलपत्र परेका हुन्।

निरन्तर हिमपात र वर्षा भइरहेकाले सडक खुलाउन कठिनाइ भएको प्रहरीले जनाएको छ। साथै, सो क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध हुँदा उद्धार तथा समन्वयमा थप चुनौती देखिएको छ।

प्रहरीका अनुसार स्थानीय तहसँग समन्वय गरेर यात्रुहरूको उद्धार कार्य अगाडि बढाइएको छ। मौसममा सुधार आएपछि मात्रै सडक पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरिएको छ।