पार्टीको बहानामा दुई किशोरीको सामुहिक बलात्कार
वि.सं.२०७५ कात्तिक २५ आइतवार १३:२०
shares

लहान । सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा सामूहिक बलात्कार भएको थियो ।
सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी बालिकालाई भोटिया टोलमा ल्याएर सात जना युवकको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिका र युवतीको बयान अनुसार लहान ११ का हरि चौधरीले ‘मेरो बर्थडे परेकाले घरमा जाऔं’ भन्दै मोटरसाइकलमा लगेको प्रहरीले जनाएको छ । हरि चौधरीकै घरमा सात जना युवा मिलेर सामुहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
खोजीका लागि विशेष टोली
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार सामूहिक बलात्कारमा संलग्न भई फरार भएकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भइरहेको छ ।














