कोरोनाको त्रास : विश्व बैंकले गर्यो १२ अर्ब अमेरिकी डलर आपतकालीन सहयोगको घोषणा

8.63K
shares

मुक्तिखबर,काठमाडौं ।

यतीबेला संसारभर नोबेल कोरोना भाईरस अर्थात् (कोभिड १९) को जोखिम देखिएको भन्दै विश्व बैंकले यसकोको असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ। विकासशील राष्ट्रका लागि यो सहयोग फास्ट ट्रयाकबाट उपलब्ध गराइने बैंकले जनाएको छ।

नोभेल कोरोना भाइरस अहिलेसम्म ६० भन्दा बढी देशमा फैलिसकेको छ। यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिक रूपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुझ्न खर्च गरिनेछ। यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो।

फास्ट ट्रयाक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ।

राष्ट्रिय आवश्यकताअनुसार विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघ (आइडीए), पुनर्निर्माण र विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले आपसमा मिलेर काम गर्नेछन्। १२ अर्ब अमेरिकी डलर सहयोगमध्ये ८ अर्ब नयाँ सहयोग रकम हो। बाँकी ४ अर्ब विश्व बैंक र आईएफसीका विद्यमान पोर्टफोलियोलाई पुनःप्राथमिकीकरण गरिएको हो। २।