सूर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो

1.57K
shares

काठमाडौं। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ० ल्याउने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएकोमध्ये अब दोस्रो चरणमा बाँकी रहेको सेयर सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बिक्री गर्न लागेको हो। यस चरणमा सर्वसाधारणका लागि करिब साढे पाँच लाख कित्ता सेयर उपलब्ध गराइनेछ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर नबिकेमा बिक्री अवधि फागुन ३ गतेसम्म थपिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।