ग्यास अभावको गुनासोपछि टेकुबाटै बिक्री सुरु
वि.सं.२०८२ माघ २८ बुधवार १२:४८
shares

काठमाडौं। बजारमा खाना पकाउने एलपीजी ग्यास नपाइएको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि नेपाल आयल निगमले टेकुस्थित आफ्नै कार्यालय परिसरबाट सिधै ग्यास बिक्री वितरण सुरु गरेको छ।
डिलरहरूमा ग्यास अभाव भएको सूचना आएपछि निगमले आकस्मिक व्यवस्था गर्दै टेकुमा अस्थायी काउन्टर सञ्चालनमा ल्याएको हो। निगमका अनुसार हाल नेपाल ग्यासको बिक्री सुरु भइसकेको छ भने एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताले पनि छिट्टै त्यहीँबाट ग्यास पाउनेछन्।
निगमका प्रवक्ता मनोज ठाकुरले आफ्नो डिलरबाट ग्यास नपाएका उपभोक्तालाई खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आउन आग्रह गरेका छन्। अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराइने उनले बताए।
बजारमा कृत्रिम अभाव सिर्जना गरिएको चर्चा चलिरहे पनि निगमले भने आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ। भन्सार तथ्यांकअनुसार मागअनुसार ग्यास आयात भइरहेको र नियमित आपूर्ति जारी रहेको निगमको दाबी छ।
प्रवक्ता ठाकुरका अनुसार मुलुकमा मासिक करिब ३० लाख सिलिन्डर ग्यास खपत हुने गर्छ। उद्योग, ट्रान्जिट र उपभोक्ताको घरमा समान परिमाणमा ग्यास रहने संरचना भए पनि हाल उपभोक्ताले एकैपटक रित्तो सिलिन्डर भर्न खोज्दा बजारमा चाप देखिएको उनले बताए। नियमित वितरण प्रणाली कायम रहे पनि अतिरिक्त मौज्दात भने नभएको निगमले जनाएको छ।
एक मात्र सिलिन्डरमा निर्भर सर्वसाधारण बढी प्रभावित भएको गुनासोपछि निगमले यो अस्थायी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।
















