८ महिनामा करिब ११ खर्ब व्यापार घाटा

आयात–निर्यात बढ्दा पनि असन्तुलन कायम

1.69K
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ। भन्सार विभाग ले आइतबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कुल वैदेशिक व्यापार रू १४ खर्ब ४० अर्ब ३६ करोड पुगेको छ।

विभागका अनुसार यस अवधिमा आयात रू १२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ भने निर्यात रू १ खर्ब ९१ अर्ब ११ करोडमा सीमित रहेको छ। यसरी कुल व्यापार घाटा रू १० खर्ब ९८ अर्ब १३ करोड पुगेको हो।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशतले बढेको छ भने निर्यातमा २९.८३ प्रतिशतको वृद्धि भएको देखिएको छ। निर्यात वृद्धि भए पनि आयात उच्च रहेकाले व्यापार असन्तुलन कायम छ।

 

नेपालले सबैभन्दा बढी व्यापार घाटा भारत सँग व्यहोरेको छ। भारतसँग मात्रै रू ५ खर्ब ६७ अर्ब ३९ करोड घाटा भएको छ। यस अवधिमा भारतबाट रू ७ खर्ब २४ अर्ब ६ करोडको आयात हुँदा रू १ खर्ब ५६ अर्ब ६६ करोडको निर्यात भएको छ।

त्यस्तै चीन सँग पनि व्यापार असन्तुलन उच्च देखिएको छ। चीनबाट रू २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाख बराबरको आयात हुँदा निर्यात भने रू ९८ करोड ३३ लाख मात्रै भएको छ। यसबाट रू २  खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख घाटा भएको छ।

अन्य उच्च घाटा भएका मुलुकमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया रहेका छन्।

 

नेपालले रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्या जस्ता मुलुकसँग व्यापार नाफा आर्जन गरेको छ। रोमानियासँग मात्र रू ५० करोड ६५ लाख नाफा भएको तथ्याङ्कले देखाएको छ।

आठ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च रहेको छ। डिजेल, पेट्रोल र एलपी ग्यासमा ठूलो रकम बाहिरिएको छ। साथै कच्चा भटमास तेल, स्मार्टफोन, फलामजन्य सामग्री, सुन र चाँदीको आयात पनि उल्लेख्य देखिएको छ।

निर्याततर्फ भटमास तेल अग्रस्थानमा रहेको छ। यस अवधिमा रू ७५ अर्ब ७७ करोडभन्दा बढीको भटमास तेल निर्यात भएको छ। त्यसपछि अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।

समग्रमा आयात–निर्यात दुवै बढे पनि उच्च व्यापार घाटाले अर्थतन्त्रमा दबाब कायम राखेको देखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083