ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट बन्द गर्ने इरानको चेतावनी

1.01K
shares

मध्यपूर्वमा तनाव चर्किँदै जाँदा इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण भए रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द गर्ने चेतावनी दिएको छ।

आईआरजीसीले इरानी सञ्चारमाध्यममार्फत् दिएको प्रतिक्रियामा ऊर्जा स्थलहरूमा क्षति पुगे पुनर्निर्माण नहुँदासम्म उक्त जलमार्ग बन्द गरिने उल्लेख गरेको हो। विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ यही मार्गबाट ओसार–पसार हुने भएकाले यसको बन्दले विश्व बजारमा गम्भीर प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अरघची ले हाल स्ट्रेट अफ होर्मुज बन्द नभएको स्पष्ट पारेका छन्। तर अमेरिका–इजरायलको गतिविधिका कारण तेलवाहक जहाजहरू आवतजावत गर्न हिच्किचाइरहेको उनको भनाइ छ।

तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले २१ मार्चमा ४८ घण्टाभित्र होर्मुज मार्ग खुला नगरे इरानका पावर प्लान्टहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए। त्यसको प्रत्युत्तरमा आईआरजीसीले इजरायलका ऊर्जा संरचना, पावर प्लान्ट र आईटी क्षेत्रलाई निशाना बनाउने चेतावनी दिएको छ।

इरान–इजरायलबीच सैन्य तनाव झन् तीव्र बनेको छ। इरानले इजरायलका विभिन्न क्षेत्रमा मिसाइल आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जवाफी रूपमा इजरायली वायुसेनाले पनि आक्रमण तीव्र पारेको छ।

यसअघि इरानका राष्ट्रपति मसुद पेजेश्कियान ले अमेरिकी चेतावनीलाई ‘बेचैनी र निराशा’ को संकेत भनेका थिए।

पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित हुँदै गएको छ भने मूल्यमा समेत उकालो लागिरहेको छ।