पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट
वि.सं.२०७६ फागुन २८ बुधवार ०९:२५
shares

मुक्तिखबर,काठमाडौं ।
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निर्माणधीन घर नजिकै बम बिस्फोट भएको छ । भक्तपुरस्थित मनहरा फाँटमा बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुगेको बताईएको छ ।

विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।
बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।




























