आज पनि आफूनिकट सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओली
वि.सं.२०७७ वैशाख १७ बुधवार १२:२५
shares

काठमाडौँ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज पनि आफूनिकटका सांसदहरूसँग छलफल गर्दैछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरूसँग छलफल हुन लागेको प्रधानमन्त्रीनिकट स्रोतले सेतोपाटीलाई जानकारी दियो।
यसअघि प्रधानमन्त्रीले सोमबार र मंगलबार पनि सांसदहरूसँग कुराकानी गरेका थिए। सोमबार सांसदहरू महेश बस्नेत, निरुदेवी पाल, विजय सुब्बालगायतलाई भेटेका प्रधानमन्त्री ओलीले मंगलबार खगराज अधिकारी, सूर्य पाठकलगायतलाई भेटेका थिए।
पार्टीभित्र जस्तोसुकै अवस्था पनि आउन सक्ने भएकाले त्यसका लागि तयार रहन उनले बालुवाटार आएका सांसदहरूलाई भन्दै आएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन्।
केही दिनयता प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपालनिकटका असन्तुष्ट नेता र सांसदसँग समेत निरन्तर छलफल गरिरहेका छन्। दुबै समूहका असन्तुष्ट सांसदलाई आफ्ना पक्षमा ल्याएर बहुमत पुर्याउने योजनामा प्रधानमन्त्री ओली सक्रिय बनेको उनीनिकटका एक सांसदले बताए।
नेकपामा चुलिएको विवादबारे छलफल गर्न आज साँझ सचिवालय बैठक बस्दैछ। बैठक साँझ पाँच बजेका लागि बालुवाटारमा बोलाइएको छ।सचिवालय बैठक बस्नुअघि नेताहरूले आफूनिकटहरू सँग विभिन्न तहमा संवादलाई तीव्रता दिएका छन्।




























