प्रदेशसभा सदस्य थापाले राजीनामा दिनुपर्ने माग

5.98K
shares

काठमाडौँ ।

विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जीतु गौतम र गणेश विक, नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र दलित गैरसरकारी संस्था महासङ्घलगायत सङ्घसंस्थाले प्रेस विज्ञप्ति जारी गरी थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पोखरा महानगरपालिका– १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजीकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप लगाइएको छ ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय-ऐन)२०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउनुभएको थियो । स्थानीय समाजसेवी र दलित अगुवाको दवावमा पाँच दिनपछि पीडक भनिएका थापाद्वय र राम बिसी पक्राउ परेका छन् ।

सो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नाको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गरेको भनिएकाहरुलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् । काँग्रेस निकट नेपाल दलित सङ्घले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083